काठमाडौं । धनुषाबाट सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षक घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले सञ्चालन गरेको गोप्य कारबाहीका क्रममा इन्सपेक्टर ओकिल अधिकारीलाई नियन्त्रणमा लिइएको हो।
आयोगका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको लालगढ क्षेत्रमा उनलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको हो। सूचना अधिकारी प्रकाश पोखरेलले दिएको जानकारीअनुसार विशेष निगरानीपछि उनलाई रंगेहात समातिएको हो। कमला–ढल्केवर–बाग्मती सडक निर्माण आयोजनामा संलग्न सवारी साधनहरूलाई अनावश्यक रूपमा रोक्ने, काममा अवरोध गर्ने तथा रकम माग्ने गरेको गुनासो आएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
सोही उजुरीका आधारमा गरिएको स्टिङ अपरेशनमा अधिकारी संलग्न रहेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको हो। हाल उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको आयोगले जनाएको छ।




