जलश्रोत/उर्जा

दुई वर्षभित्रै सञ्चालनमा आउने गरी अघि बढ्यो तामाकोशी–५ को काम, हटे सबै अवरोध

काठमाडौं । आगामी २०८५ असारमा पूर्ण रूपमा सञ्चालनमा आउने गरी ९९ दशमलब ८ मेगावाटको तामकोशी पाँचौ जलविद्युत आयोजनाको काम तीव्र रूपमा अघि बढेको छ । राष्ट्रिय वन क्षेत्रको जग्गाको भोगाधिकार पाएपछि १० महिनादेखि रोकिएको स्वदेशी लगानीको आयोजना निर्माणको काम द्रुत ढंगले अघि बढेको हो ।

आयोजनाअन्तर्गत इलेक्ट्रो–मेकानिकल उपकरण तथा प्रसारण लाइन निर्माणसम्बन्धी ठेक्का प्रक्रिया पनि टुंगिएको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रमार्फत अघि बढाइएको ठेक्का प्रक्रियामा न्यूनतम लागत प्रस्ताव गर्ने कम्पनी छनोट भएसँगै आयोजना कार्यान्वयनको महत्वपूर्ण चरणमा प्रवेश गरेको छ । जसअनुसार ‘लट टु’ अन्तर्गतका बोलपत्र आह्वानको तयारी अन्तिम चरणमा पुगेको र केही दिनमै खुलाइने भएको छ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (ICB) मार्फत अघि बढाइएको उक्त ठेक्का प्रक्रियामा न्यूनतम लागत प्रस्ताव गर्ने कम्पनी छनोट भएसँगै आयोजना कार्यान्वयनको महत्वपूर्ण चरणमा प्रवेश गरेको छ।

आयोजनाको सिभिलतर्फको कामको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको छ । आयोजना निर्माणस्थल वन क्षेत्रको भोगाधिकारका कारण काममा अवरोध हुँदै आएपछि १० महिनादेखि काम रोकिएको थियो । राष्ट्रिय वन क्षेत्रको जग्गाको भोगाधिकार पाएपछि रोकिएको काम अब विना अवरोध अघि बढ्ने आयोजनाका कार्यकारी प्रमुख रामकुमार यादवले जानकारी दिए ।

आयोजनाले वन क्षेत्र उपयोग र स्थानीय स्रोत प्रयोगबापत सरकारलाई ११ करोड राजश्व बुझाएको यादवको भनाइ छ । गौरीशंकर संरक्षण क्षेत्रमा बनिरहेको आयोजनाको काम जग्गाको भोगाधिकार नपाउँदा अन्य २, ३ र ४ नम्बर अडिट टनेलसहितका काम पूर्णरुपमा बन्द थियो । ‘जनताको पानी जनताकै लागानी’ अन्तर्गतको तामाकोसी पाँचौं आयोजना निर्माणमा २१ अर्ब लाग्ने अनुमान गरिएको छ । इपिसी मोडलमा बनिरहेको तामाकोसी पाँचौं २०८५ असारमा सक्ने लक्ष्यसहित तीव्र गतिमा अघि बढाइने यादवले बताएका छन् ।

सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम बहुचरणीय मूल्यांकन प्रक्रिया पूरा गर्दै टुंग्याइएको ठेक्काअन्तर्गत प्राविधिक रूपमा योग्य ठहरिएका बोलपत्रदाताहरूका कागजातको प्रमाणीकरणका लागि सम्बन्धित प्रमाणपत्र जारी गर्ने निकाय, अन्तिम प्रयोगकर्ता तथा स्वयं बोलपत्रदातासँग स्पष्टीकरण लिइएको आयोजनाले जनाएको छ । यादवका अनुसार प्राप्त कागजात र कानुनी विज्ञको रायका आधारमा ऐनको दफा ४७ (६) अनुसार सार्वजनिक निकायका प्रमुखबाट निर्णय गरिएको कम्पनीले जनाएको छ ।

यसैबीच सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४९ अनुसार निर्णयप्रति असन्तुष्ट बोलपत्रदातालाई तोकिएको समयसीमाभित्र पुनरावलोकन समितिमा उजुरी दिने कानुनी व्यवस्था खुला रहेको पनि कम्पनीले उल्लेख गरेको छ।

यो आयोजना अपर तामाकोशी जलविद्युत् आयोजनासँग टेन्डम (tandem) प्रणाली (एउटै नदी वा प्रणालीमा रहेका दुई (वा बढी) आयोजना एकअर्कासँग जोडिएर क्रमशः सञ्चालन हुने) मा विकास गर्ने अवधारणामा आधारित छ। जसअनुसार गोंगर क्षेत्रमा अपर तामाकोशीको टेलरेससँग अन्तरसम्बन्ध गरिएको इन्टेक संरचना रहनेछ भने भूमिगत विद्युत्‌गृह तामाकोशी नदीको दायाँ किनारमा, सुरी खोला संगम क्षेत्रनजिक निर्माण गरिनेछ।

इलेक्ट्रो–मेकानिकल ठेक्का टुंगिनु परियोजना कार्यान्वयनको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको आयोजनाका कार्यकारी प्रमुख यादवले बताए । कम्पनीका अनुसार आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल कार्य अघि बढिसकेको अवस्थामा इलेक्ट्रो–मेकानिकल ठेक्का ढिलाइ भए समग्र आयोजनाको कार्यतालिकामा असर पर्नुका साथै लागत समेत वृद्धि हुने जोखिम थियो । त्यसैले समयमै ठेक्का प्रक्रिया टुंग्याएर कार्यान्वयन चरणमा लगिएको हो । तामाकोशी–५ आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रूपमा ३ मार्च २०१७ मा स्थापना गरिएको तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडमार्फत अघि बढाइएको आयोजना हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *