राजनीति

पूर्वगृहमन्त्री लेखकको बयान –गोली चलाउन कुनै आदेश दिएन्

काठमाडौं । जेनजी आन्दोलन दमन प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकले अनुसन्धानका क्रममा आफूले गोली चलाउन कुनै आदेश नदिएको दाबी गरेका छन्। भदौ २३ र २४ मा भएको घटनासम्बन्धी बयान बुधबार साँझ सम्पन्न भएको हो। अनुसन्धान अधिकृत र सरकारी वकिलसमक्ष दिएको बयानमा लेखकले बानेश्वर क्षेत्रमा किशोरहरूको ज्यान जाने गरी गोली चलाइएको विषयमा आफू प्रत्यक्ष जिम्मेवार नभएको बताएका छन्। उनले स्पष्ट रूपमा भनेका छन् कि भिड नियन्त्रण गर्ने कार्य आफ्नो प्रत्यक्ष कार्यक्षेत्रमा नपर्ने भएकाले त्यस्तो आदेश दिनु आफ्नो भूमिकाभित्र पर्दैन।

लेखकका अनुसार हुलदंगा वा अशान्ति नियन्त्रण गर्दा बल प्रयोग गर्ने निर्णय स्थलमै खटिएका सुरक्षा अधिकारीहरूले परिस्थितिअनुसार गर्ने अभ्यास रहँदै आएको छ। उनले गृहमन्त्रीले प्रत्यक्ष रूपमा गोली चलाउने आदेश दिने कानुनी व्यवस्था वा व्यवहारिक परम्परा नरहेको जिकिर गरेका छन्।

उनले आफ्नो भूमिकालाई नीतिगत निर्देशन, समन्वय र सहजीकरणमा सीमित रहेको उल्लेख गर्दै शान्ति–सुरक्षा कायम गर्ने जिम्मेवारी गृह मन्त्रालय मातहतका निकायमार्फत सञ्चालन हुने बताए। साथै, कुनै पनि अवस्थामा मानवीय क्षति नहोस् भन्ने निर्देशन आफूले दिएको दाबी गरेका छन्।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले लेखकसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरेपछि सोही आधारमा चैत १४ गते लेखक पक्राउ परेका थिए।लेखकले बयानमा घुसपैठप्रति सतर्क रहन र संसद् भवनको सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएको उल्लेख गर्दै अन्तिम बल प्रयोगको निर्णय भने आफूले नगरेको पुनः दोहोर्‍याएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *