काठमाडौं । नेकपा (एमाले) का नेता रामबहादुर थापाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अघोषित नेतृत्व रहेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता थापाले उक्त आन्दोलनमा रास्वपाले प्रत्यक्ष नभए पनि अघोषित रूपमा नेतृत्वदायी भूमिका खेलेको दाबी गरे। उनले फागुन २१ गते देशमा “निलो क्रान्ति” भएको टिप्पणीसमेत गरे।
थापाले नेपालमा हालसम्म विकसित राजनीतिक घटनाक्रममा नेपाली सेना, सुशीला कार्की नेतृत्वको सरकार, कार्की आयोग तथा कर्मचारीतन्त्रको समेत सहयोग रहेको आरोप लगाए। साथै, टिओबी, मिडिया ट्रायल, एल्गोरिदम र बारबरा फाउन्डेसनजस्ता पक्षहरूको भूमिकाका कारण अहिलेको अवस्था सिर्जना भएको भन्दै उनले ती सबै शक्तिलाई व्यंग्यात्मक रूपमा बधाईसमेत दिएका थिए।
उनले जनताले आफूहरूलाई प्रतिपक्षमा रहने जनादेश दिएको उल्लेख गर्दै अब एमालेले प्रतिपक्षको मोर्चाबाट सरकारका गलत कामहरू सशक्त रूपमा उठाउने स्पष्ट पारे।




