काठमाडौं । नेपाली काँग्रेसका सांसद भिष्म आङ्देम्बेले काँग्रेस परिवर्तनलाई आत्मसात गर्दै जेनजी आन्दोलनले उठाएका विषयलाई निष्कर्षमा पुर्याउन तयार रहेको बताएका छन्।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै आङ्देम्बेले काँग्रेस आफू परिवर्तनको एजेन्डासहित चुनावमा गएको भए पनि जनतामाझ आफ्ना कुरा प्रभावकारी रूपमा पुर्याउन नसक्दा प्रतिपक्षमा बस्नुपरेको बताए।
उनले विगत ३०–३५ वर्षमा देशमा केही भएन भन्ने भाष्यलाई यो संसद्ले चिर्नुपर्ने धारणा राख्दै विकासका विभिन्न क्षेत्रका उपलब्धि स्मरण गराए। सडक, सञ्चार, वित्तीय संस्था र खानेपानीजस्ता क्षेत्रमा उल्लेख्य काम भएको उल्लेख गर्दै उनले निराशाको भाष्य सत्यको जगमा नउभिएको बताए।
आङ्देम्बेले अब नागरिकलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए। साथै, संसद् भवन भदौ २४ गते खरानी बनेको घटनाको स्मरण गर्दै भविष्यमा देशलाई फेरि त्यसरी “खरानी” बन्न नदिने गरी जिम्मेवार ढंगले काम गर्नुपर्ने बताए।
उनले भदौ २३ र २४ गतेका घटनाको छुट्टाछुट्टै विषयमा गहिरो छानबिन र अध्ययन हुनुपर्ने माग गरे। साथै, गौरीबहादुर कार्कीको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगरिएको भन्दै त्यसलाई तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरे।
उनका अनुसार दोषी कोही नछुट्ने र निर्दोष कोही नपर्ने सुनिश्चित गर्नु नै काँग्रेसको स्पष्ट नीति हो।




