देश

संसद्को रोष्ट्रमबाट रविले भने – गल्ती देखाइदिनुस्, आवाज दबिँदैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारलाई ‘हनिमुन पिरियड’ आवश्यक नभएको बताएका छन्।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै लामिछानेले सरकारले काम गरेर देखाउन सुरु गरिसकेको उल्लेख गर्दै अब परिणामबाटै जवाफ दिने समय आएको बताए।

उनले आफूहरू केवल प्रश्न सोध्न मात्र नभई अब जवाफ दिन पनि आएको स्पष्ट गर्दै सरकारको कामलाई परिणाममुखी बनाइने धारणा राखे। साथै, प्रतिपक्षी दलहरूलाई आफ्ना कमजोरी र गल्ती औँल्याइदिन आग्रह गर्दै प्रतिपक्षको आवाजलाई कमजोर नबनाउने प्रतिबद्धता व्यक्त गरे।

लामिछानेले सरकारले प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पार्दै अब आफूले सुन्न नचाहेको कुरा बोलेकै कारण संसद्मा माइक नकाटिने बताए। उनले यसअघि राजनीतिक नियुक्ति पाएका सबैलाई स्वेच्छाले मार्गप्रशस्त गर्न आग्रह गर्दै पारदर्शी प्रशासनको ग्यारेन्टी गर्ने दाबी गरे।

उनले सरकार जनआन्दोलन र परिवर्तनको भावनाबाट आएको उल्लेख गर्दै शहीदको रगतको अपमान हुने गतिविधिमाथि हुने कारबाहीलाई प्रतिशोधका रूपमा नबुझ्न आग्रह गरे।

संसद्को रोष्ट्रमबाटै दलित समुदायमाथि भएको विभेदप्रति माफी माग्दै लामिछानेले “माफीको मूल्य न्यायले सुनिश्चित गर्छ” भन्ने धारणा राखे। साथै, अबको यात्रा सशक्तीकरणको हुने र महिलाले समान अवसर पाउने गरी सरकारले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *