काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसदमा आफ्नो उपस्थितिलाई थप प्रभावकारी बनाउने तयारी गरेको छ। दलले अब संसदमा एकीकृत, सङ्गठित र व्यवस्थित ढङ्गले प्रस्तुत हुने रणनीति अघि सारेको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। राष्ट्रियसभा सदस्य रञ्जित कर्ण का अनुसार, सांसदहरूको सङ्ख्या कम भए पनि प्रभावकारी रूपमा प्रस्तुत हुनेमा जोड दिइएको छ।
उनले भने, “संख्या कम हुनु ठूलो कुरा होइन, हाम्रो प्रस्तुति एकताबद्ध र सशक्त हुनुपर्छ भन्ने निष्कर्षमा बैठक पुगेको छ। जनताको चाहना अनुसार आर्थिक समृद्धि, विकास र लोकतन्त्रको रक्षा गर्न खबरदारी गर्ने विषयमा पनि छलफल भयो।”
बैठकमा पार्टीका उपसभापति पुष्पा भुसाल र महामन्त्री प्रदीप पौडेल ले सांसदहरूलाई संसदमा पार्टीको छवि उकास्ने र देशको प्रतिष्ठा जोगाउने गरी भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए। प्रतिनिधिसभा सदस्य उर्मिला थपलियाका अनुसार, नेतृत्वले जिम्मेवार र अनुशासित प्रस्तुतिमा विशेष जोड दिएको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि आजदेखि सङ्घीय संसद्को अधिवेशन सुरु हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेल ले दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका छन्। सोही अधिवेशनमा पार्टीको भूमिका कस्तो हुने भन्ने विषयमा स्पष्ट रणनीति बनाउन कांग्रेसले संयुक्त बैठक आयोजना गरेको हो।




