काठमाडौं । नेकपा एमालेमा संसदीय दलको नेता चयनसँगै आन्तरिक विवाद सतहमा आएको छ। युवा सांसद सुहाङ नेम्वाङको सट्टा वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’लाई दलको नेता बनाइएपछि पार्टीभित्र असन्तुष्टि व्यापक रूपमा फैलिएको हो। दलको नेतृत्व चयन प्रक्रियाप्रति असन्तुष्ट नेता–कार्यकर्ताहरूले सामाजिक सञ्जालदेखि सडकसम्म विरोध जनाएका छन्। केही स्थानमा मसाल जुलुस निकालिएको छ भने नेतृत्वको कार्यशैलीविरुद्ध चर्को आलोचना भइरहेको छ। युवा पुस्ताको प्रतिनिधित्व बेवास्ता गरिएको भन्दै पार्टीभित्र असन्तोष बढ्दै गएको देखिन्छ।
च्यासलस्थित पार्टी कार्यालयमा भएको प्रक्रियामा थापा सर्वसम्मत रूपमा चयन भए पनि त्यसअघि दलको नेताका आकांक्षी रहेका नेम्वाङले अन्तिम समयमा उम्मेदवारी दर्ता गरेनन्। आफूले जित्ने सम्भावना कमजोर देखेपछि पछि हटेको उनले बताएका छन्। तर, पार्टीका केही नेताहरूले शीर्ष नेतृत्वबाट दबाब सिर्जना गरिएको आरोप लगाएका छन्। उपमहासचिव योगेश भट्टराई र पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डेले सार्वजनिक रूपमा प्रक्रिया र शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आन्तरिक लोकतन्त्र कमजोर भएको टिप्पणी गरेका छन्।
युवा पुस्ताले नेतृत्वमा अवसर पाउनुपर्ने अपेक्षा विपरीत ७० वर्ष पार गरेका थापालाई जिम्मेवारी दिइएपछि पार्टीभित्र पुस्तान्तरणको बहस झनै चर्किएको छ। यसले संगठनभित्र पुरानै शैली हावी रहेको आलोचना पनि बढाएको छ।
यस्तै, जनसंगठनका केही समूहले नेतृत्वविरुद्ध प्रदर्शनसमेत गरेका छन्। काठमाडौँमा विद्यार्थी संगठनका कार्यकर्ताले विरोध जुलुस निकाल्दै शीर्ष नेतृत्वको आलोचना गरेका छन्। पार्टीभित्र बढ्दो असन्तुष्टिले आगामी दिनमा एमालेको आन्तरिक एकता र दिशा प्रभावित पार्न सक्ने संकेत देखिएको छ।




