देश

सुर्खेत : सार्वजनिक सेवा अवरुद्ध गर्ने गिरोहविरुद्ध कारबाही, १६ जना पक्राउ

काठमाडौं । सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्‍याउँदै आएका बिचौलियामाथि प्रहरीले कडाइ थालेको छ। यसैक्रममा सुर्खेतस्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालयबाट १६ जनालाई नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहीबार बिहान वीरेन्द्रनगर क्षेत्रमा सञ्चालन गरिएको कारबाहीमा १० जना महिला र ६ जना पुरुष पक्राउ परेका हुन्। उनीहरू सेवाग्राहीसँग रकम लिएर सवारी दर्ता नवीकरण, जग्गा नामसारी लगायतका काम मिलाइदिने भन्दै अनधिकृत रूपमा बिचौलियाको भूमिका निभाइरहेका थिए।

प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले सार्वजनिक सेवा प्रभावित भएको गुनासो आएपछि विशेष टोली परिचालन गरिएको जानकारी दिए। प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले दुवै कार्यालयबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामाथि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस प्रकारका गतिविधिले सेवाग्राहीलाई आर्थिक भार थप्नुका साथै सरकारी सेवा प्रणालीमै अवरोध सिर्जना गर्ने भएकाले नियन्त्रण अभियानलाई निरन्तरता दिने प्रहरीको भनाइ छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *