देश

प्रतिनिधि सभाको पहिलो बैठकमा ६ दलका शिर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं । चालु अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठक आज बिहीवार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद भवनको बहुउद्देश्यीय हलमा बस्दैछ।

बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ राष्ट्रिय दलका शीर्ष नेताले सम्बोधन गर्ने संघीय संसद सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बे, नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने कार्यसूची छ।

यस्तै, स्वतन्त्र सांसद महावीर पुनले पनि बैठकलाई सम्बोधन गर्नेछन्। सचिवालयका अनुसार दलगत आधारमा बोल्ने समयसमेत निर्धारण गरिएको छ।

रास्वपालाई २५ मिनेट, कांग्रेसलाई १० मिनेट, एमालेलाई ८ मिनेट, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपालाई ७/७ मिनेट तथा स्वतन्त्र सांसद पुनलाई ५ मिनेट समय छुट्याइएको छ।

बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, तीन वटा अध्यादेश पेश गर्ने, सभामुख चयनको निर्वाचन कार्यतालिका प्रस्तुत गर्ने, संसद नियमावली २०७९ पेश गर्ने तथा शोक प्रस्ताव पारित गर्ने विषयहरू समावेश छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *