देश

मालपोत कार्यालयमा कडाइः बिचौलियामाथि पूर्ण प्रतिबन्ध

काठमाडौं । देशभरका मालपोत तथा भूमि सुधार कार्यालयहरूमा अब बिचौलिया र अनधिकृत व्यक्तिको प्रवेश पूर्ण रूपमा निषेध गरिएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले गोपनीयता र सुरक्षा कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै कडा कदम चालेको हो। विभागले बुधबार सबै कार्यालयलाई परिपत्र जारी गर्दै कार्यालयभित्र बाहिरी व्यक्तिको पहुँच सीमित गर्न निर्देशन दिएको हो। विशेषगरी संवेदनशील कागजात र अभिलेखमा अनधिकृत पहुँच बढेको भन्दै यस्तो निर्णय गरिएको जनाइएको छ।

नयाँ निर्देशनअनुसार अब कर्मचारीबाहेक अन्य कसैले पनि फाइल ओसारपसार गर्न, अभिलेख हेर्न वा एक शाखाबाट अर्को शाखामा कागजात लैजान पाउने छैनन्। यसअघि भने बिचौलिया, लेखापढी व्यवसायी र भू–सेवा केन्द्रसँग सम्बद्ध व्यक्तिहरू कार्यालयका विभिन्न शाखासम्म पुग्ने गरेका थिए। विभागको अनुगमनका क्रममा अनधिकृत व्यक्तिहरूले मोठ स्रेस्ता, रोक्का अभिलेख तथा अन्य संवेदनशील कागजातहरू हेर्ने र चलाउने गरेको पाइएको थियो। यस्ता गतिविधिले कार्यालयको गोपनीयता र सुरक्षा दुवैमा प्रश्न उठाएको विभागको भनाइ छ।

परिपत्रमा भूमि प्रशासन निर्देशिका, २०८१ अनुसार मोठको सुरक्षा अनिवार्य रहेको,मिसिल तथा लिखत कागजात बाहिरी व्यक्तिलाई दिन नहुने स्पष्ट प्रावधान रहेको उल्लेख गर्दै सबै कार्यालयलाई कडाइका साथ पालना गर्न भनिएको छ। विभागले अबदेखि अनधिकृत व्यक्तिको प्रवेश पूर्ण रूपमा रोक्न, अभिलेखको सुरक्षा सुनिश्चित गर्न र यस्ता गतिविधि दोहोरिन नदिन कडा निर्देशन दिएको छ। यस निर्णयसँगै मालपोत कार्यालयहरूमा फाइल चलाउने र कागजात हेर्ने अधिकार कर्मचारीमै सीमित हुने भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *