काठमाडौं । नेपाली कांग्रेस भित्रको आन्तरिक विवादबीच बरिष्ठ नेता डा.शेखर कोइरालाले देशको समग्र राजनीतिक दिशामाथि नै गम्भीर प्रश्न उठाएका छन्। उनले नेपाललाई अस्थिर बनाउने “विभिन्न शक्तिहरू सक्रिय” रहेको दाबी गर्दै त्यसमा आफ्नै पार्टीका नेताहरू समेत प्रयोग भएको बताए । अनुशासन समितिले पूर्णबहादुर खड्कालाई ‘नक्कली लेटरप्याड’ भन्दै सचेत गराउने निर्णय गरेपछि कोइरालाले त्यसप्रति खुलेर असन्तोष व्यक्त गरे। उनले यस्तो निर्णयले पार्टीभित्र अनावश्यक सन्देश जाने चेतावनी दिए।
उनका अनुसार, असहमति र फरक मतलाई अनुशासनको नाममा दबाउने प्रवृत्ति दीर्घकालीन रूपमा घातक हुन सक्छ। कोइरालाले खड्कालाई लक्षित गर्दै यस्तो कारबाहीबाट नआत्तिन आग्रह गरे। उनका शब्दमा, पार्टीभित्र देखिएका यस्ता कदमहरू अस्थायी हुन् र विचारको बहसलाई रोकिनु हुँदैन। सबैभन्दा अर्थपूर्ण उनको अभिव्यक्ति भने नेपालको समग्र अवस्थाबारे थियो। उनले देश कठिन परिस्थितिमा रहेको भन्दै “नेपाललाई नै कमजोर बनाउने प्रयास भइरहेको” संकेत गरे। झ गम्भीर कुरा, उनले कांग्रेसकै केही नेताहरू त्यस्ता गतिविधिमा “प्रयोग भएको” दाबी गरे—यद्यपि कसलाई संकेत गरिएको हो भन्ने स्पष्ट पारेनन्। यसले पार्टीभित्रको विश्वास संकट झन् गहिरो भएको देखाउँछ।
कोइरालाले पार्टीको निर्णय प्रक्रिया र नेतृत्व शैलीमाथि पनि अप्रत्यक्ष आलोचना गरे। उनले सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिँदै, पार्टीभित्र संवादको अभाव रहेको संकेत गरे। उनको भनाइमा, समयमै सही निर्णय नलिँदा पार्टी मात्र होइन, देश नै जोखिममा पर्न सक्छ। शेखर कोइराला को अभिव्यक्ति केवल आन्तरिक असन्तुष्टि होइन, व्यापक राजनीतिक चेतावनीका रूपमा पनि हेरिएको छ। यदि उनका आरोपहरू गम्भीर रूपमा लिइएन भने, यसले नेपाली कांग्रेस भित्रको विभाजन मात्र होइन, राष्ट्रिय राजनीतिक स्थिरतामै असर पार्ने संकेत देखिन्छ।




