काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का क्रममा पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा परेका ५०७ जना व्यक्तिमाथि परेको उजुरी तत्काल टुंगोमा पुर्याउने निर्णय गरेको छ।
समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा मंगलबार पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बसेको बैठकले उजुरीहरूलाई विभिन्न शीर्षकमा वर्गीकरण गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।
समितिले उजुरीलाई स्वतन्त्र उम्मेदवार बनेका, प्रस्तावक–समर्थक बसेका, पार्टी उम्मेदवारविरुद्ध प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विपक्षीलाई सहयोग गरेका, ‘साइलेन्स किलिङ’मार्फत मत नमागेका तथा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि भएर विपक्षीलाई सहयोग गरेका पाँच मुख्य श्रेणीमा विभाजन गरेको जनाएको छ।
बैठकले छानबिनपछि वर्गीकृत गरिएका उजुरीमा आरोपित व्यक्तिसँग ७ दिनभित्र स्पष्टिकरण (सफाइ) माग्ने निर्णय पनि गरेको छ। निर्धारित समयभित्र चित्तबुझ्दो जवाफ नआए थप कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ।
यसैबीच, विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कांग्रेसको नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत वक्तव्य जारी गरिएको घटनाप्रति पनि समिति कडा रूपमा प्रस्तुत भएको छ। मिति २०८२ चैत १४ गते जारी गरिएको त्यस्तो वक्तव्यलाई गलत ठहर गर्दै अब उप्रान्त यस्ता कार्य गर्ने जो–कोहीलाई पार्टी विधान र प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
समितिले प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित अन्य अनुशासन उल्लंघनका उजुरीहरू चैत मसान्तभित्र केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन दिएको छ। सो समयसीमा नाघेर आउने उजुरीमाथि कुनै कारबाही नहुने स्पष्ट गरिएको छ।





