काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साङपाङले गत भदौ २३–२४ को जेनजी आन्दोलनका योजनाकारदेखि लिएर विध्वंश मच्याउने सबैलाई निष्पक्ष छानबिन गरी कारबाही गर्न बालेन नेतृत्वको सरकारसमक्ष आग्रह गरेका छन्। सांसद साङपाङले ‘इन्द्रेणी टाइम’मा आफ्ना धारणा राख्दै यस्तो माग राखेका हुन् । धारणा राख्ने क्रममा सांसद साङपाङले आन्दोलनमा संलग्न व्यक्ति संसदमै भए पनि खोजी गरेर कारबाही गर्नुपर्ने उनको दृष्टिकोण छ। उनले भने, “घरमा रहेका जनताका छोराछोरीलाई आन्दोलनमा बोलाएर् ल्याउने, सरकारी भवनमा आगजनी गर्ने, जनधन र जनजीवनमा क्षति पुर्याउने सबैको जिम्मेवारी तोक्नु अपरिहार्य छ।”
भदौ २३–२४ को आन्दोलनमा सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतमा आगजनी र तोडफोडका कारण करिब ८४ अर्ब ४५ करोड रुपैयाँको क्षति भएको थियो। २,६७१ भवन क्षतिग्रस्त भएका थिए भने ७६ जनाले ज्यान गुमाएका थिए। यसका साथै हजारौँले रोजगारी गुमाएका थिए। केवल पुनर्निर्माणमा मात्रै करिब ३६ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान छ।
जाँचबुझका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले सार्वजनिक गरेको प्रतिवेदन एकतर्फीय र प्रतिसोधमुखी भएको भन्दै व्यापक आलोचना भइरहेको छ। प्रतिवेदनमा सुरक्षाकर्मीको बल प्रयोग, नागरिकमाथिको दमन, घाइते–मृतकको विवरण अपूर्ण रहँदा मुख्य योजनाकारहरू समावेश नभएको देखाइएको छ।
विश्लेषकहरू भन्छन्, यस्ता एकपक्षीय प्रतिवेदनले पुनः असन्तोष बढाउने र सडक आन्दोलनलाई उक्साउने जोखिम राख्छ। तर विज्ञहरूको सुझाव अनुसार, निष्पक्ष, तथ्यपरक र पारदर्शी अनुसन्धान मात्रै दीगो शान्ति, सुरक्षा र न्यायको आधार बन्न सक्छ। सांसद साङपाङले बालेन सरकारलाई आग्रह गरेका छन् कि प्रतिवेदन कार्यान्वयन गर्दा पारदर्शिता र न्याय सुनिश्चित गरियोस्, र सबै जिम्मेवार व्यक्तिलाई कानुनी दायरामा ल्याइयोस्। उनका अनुसार, “राजनीतिक र सामाजिक स्थायित्व कायम राख्न, सबै पक्षमा समान न्याय लागू गर्नु नै पहिलो प्राथमिकता हुनुपर्छ।” सो घटनाको विषयमा , र आयोगको सार्वजनिक गरेको प्रतिवेदनका बारेमा नेपाली कांग्रेस,नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी,राप्रपा,कानुनविद्ध लगायत देशमा बौद्धिक व्यक्ति ,नागरिक समाज सबैले निष्पक्ष छानबिनमा गर्न माग गर्दै आएका छन् ।
यो घटनापछि सार्वजनिक विवाद, सामाजिक सञ्जालमा आलोचना र नागरिक असन्तोष बढेको छ। राजनीतिक विश्लेषकहरू भन्छन् कि निष्पक्ष कारबाही र तथ्यसम्मक अनुसन्धानले मात्रै देशमा दीगो शान्ति र विश्वासको पुनर्निर्माण गर्न सकिन्छ।




