देश

दबाबमा नपरी काम गर्न गभर्नरलाई प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच सोमबार साँझ करिब एक घण्टा लामो भेटवार्ता भएको छ।भेटमा देशको समग्र आर्थिक अवस्था, सुधारका प्राथमिकता तथा आगामी रणनीतिबारे विस्तृत छलफल भएको बताइएको छ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले गभर्नर पौडेललाई कसैको प्रभाव वा दबाबमा नपरी स्वतन्त्र रूपमा काम गर्न निर्देशन दिएका छन्। ऋण दुरुपयोग तथा सम्पत्ति शुद्धीकरणका गलत अभ्यासविरुद्ध कडा कारबाही गर्न नडराउन पनि उनले आग्रह गरेका छन्।

छोटो समयमै परिणाममुखी काम गर्नुपर्ने भएकाले समस्या कहाँ छन् र समाधानका सम्भावना के हुन सक्छन् भन्ने स्पष्ट बुझाइ बनाउन प्रधानमन्त्रीले गभर्नरलाई सुझाव दिएका छन्।

प्रधानमन्त्रीले आर्थिक विकासलाई गति दिन गभर्नरबाट ठोस सुझाव अपेक्षा गरेको उल्लेख गर्दै नियुक्ति वा अन्य विषयमा चिन्ता नगरी निर्धक्क भएर काम गर्नसमेत भनेका छन्।साथै, अमेरिका–इजरायल–इरानबीचको द्वन्द्वले नेपाली अर्थतन्त्रमा पार्न सक्ने सम्भावित असरबारे अध्ययन गर्न पनि उनले निर्देशन दिएका छन्।

जवाफमा गभर्नर पौडेलले सरकारको खर्च हुन नसक्ने समस्या हटाउन ठूला पूर्वाधार आयोजना अघि बढाएर आर्थिक गतिविधि चलायमान बनाउन सकिने बताएका छन्।

उनका अनुसार काठमाडौं–वीरगञ्ज रेलमार्ग निर्माण गरी भारतसँग जोड्ने सम्भावना रहेको छ भने काठमाडौं–पोखरा फास्ट ट्र्याक निर्माणलाई पनि अगाडि बढाउन सकिन्छ। यस्ता परियोजनामा पहिलो वर्षमै २० देखि ३० अर्ब रुपैयाँसम्म खर्च गर्न सकिने उनको भनाइ छ।

रेमिटेन्स र वित्तीय सूचकांकलाई आधार बनाएर सार्वजनिक वित्त सुधारमा नेपाल राष्ट्र बैंकले प्रभावकारी सहयोग गर्न सक्ने उनले बताएका छन्। आगामी २–३ वर्षभित्र ठूला परियोजना सम्पन्न गर्न सकिए आर्थिक क्षेत्रमा सकारात्मक नतिजा देखिन सक्ने विश्वाससमेत उनले व्यक्त गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *