काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले वर्तमान राजनीतिक परिवेशमा विपक्षी दलहरूले न्यायालयप्रति अत्यधिक निर्भर हुन नहुने बताएका छन्। उनले प्रमुख प्रतिपक्षी शक्तिहरूलाई आफ्नै संगठन सुदृढ बनाउँदै अघि बढ्न सुझाव दिएका हुन्।
सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)लगायतका दलहरूलाई आत्मसमीक्षा गर्न आग्रह गरेका छन्। उनका अनुसार राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्ने संघर्ष लामो हुन सक्ने भएकाले दलहरू भित्रैबाट सुधार आवश्यक छ।
उनले भ्रष्ट, अनैतिक तथा जनताबाट अस्वीकृत पात्रहरूलाई हटाउँदै संगठन बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। साथै, ‘पपुलिजम’ को प्रभाव बढिरहेका बेला न्यायालयमाथि धेरै आशा राख्नु उपयुक्त नहुने उनको भनाइ छ।भट्टराईले आगामी दिनमा नागरिक अधिकार, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक अभ्यास खुम्चिन सक्ने खतरा रहेको उल्लेख गर्दै त्यसप्रति सचेत रहन पनि विपक्षी दलहरूलाई आग्रह गरेका छन्।




