काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइरालानिकट नेताहरूको आज महत्वपूर्ण बैठक बस्ने भएको छ। दिउँसो १ बजे धुम्बाराहीस्थित स्मार्ट होटलमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूबीच छलफल तय गरिएको हो।बैठकअघि कोइराला पक्षले आन्तरिक तयारीस्वरूप आफ्नै समूहभित्र छुट्टै छलफलसमेत गरेको जनाइएको छ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको गतिविधि, निर्वाचन परिणामको समीक्षा तथा आगामी १५औँ महाधिवेशनका विषयमा विमर्श हुने राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले जानकारी दिएका छन्।
यसअघि पुस १८ मा बसेको केन्द्रीय कार्यसमिति बैठकले वैशाख अन्त्यतिर महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेको थियो। तर पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनले पुरानो कार्यसमिति भंग गर्दै गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। निर्वाचन आयोगले नयाँ कार्यसमितिलाई मान्यता दिएपछि देउवा–कोइराला पक्ष पार्टीको मूलधारबाट केही हदसम्म बाहिरिएको देखिन्छ। यद्यपि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो भूमिकामा सक्रियता जारी राखेका छन्। देउवा–कोइराला समूहले चैत १९ गते प्रदेश तथा जिल्ला सभापतिहरूको भेला बोलाउने तयारी पनि गरेको छ। बस्नेतका अनुसार पार्टीको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतको निर्णय नआएसम्म यस्ता गतिविधि निरन्तर जारी रहनेछ।
उक्त विवादसँग सम्बन्धित मुद्दाको सुनुवाइ सर्वोच्च अदालतमा चैत २२ गतेका लागि तय गरिएको छ।




