काठमाडौं । सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ। सचिवालयका अनुसार सदस्यहरूले आगामी जेठ १० गतेभित्र आफ्नो तथा परिवारको नाममा रहेको अद्यावधिक सम्पत्ति विवरण पेश गर्नुपर्नेछ।
सचिवालयका प्रवक्ता एकराम गिरीले सार्वजनिक पदमा नियुक्त व्यक्तिले पदभार ग्रहण गरेको मितिबाट ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको जानकारी दिए। प्रतिनिधि सभा सदस्यहरूले चैत १२ गते शपथ ग्रहण गरेकाले सोही मितिबाट समय गणना सुरु भएको उनले बताए।
उनका अनुसार सम्पत्ति विवरण खामबन्दी गरी गोप्य रूपमा सचिवालयमा बुझाउनुपर्नेछ र उक्त विवरण पूर्ण रूपमा सुरक्षित राखिनेछ। भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार यो व्यवस्था लागू गरिएको हो।
सचिवालयले अदालतको आदेशबाहेक अन्य कुनै अवस्थामा सम्पत्ति विवरण सार्वजनिक नहुने स्पष्ट पारेको छ। साथै, बुझाइएको विवरणको दुरुपयोग नहुने पनि जनाएको छ।
यसअघि सचिवालयले राष्ट्रिय सभा सदस्यहरूलाई पनि सम्पत्ति विवरण बुझाउन आग्रह गरिसकेको छ।




