काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र छुट्टै भेला र समूहगत भेटघाट नयाँ विषय नभई पहिलेदेखि चलिआएको स्वाभाविक अभ्यास भएको बताएका छन्। सोमबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र आफ्नो अगुवाइमा आयोजित नवनिर्वाचित सांसद सम्मान कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेसभित्र यस्ता भेटघाट र छलफल निरन्तर हुँदै आएको स्पष्ट पारे।
उनले भने, “यो नेपाली कांग्रेसमा सधैँ भइराख्ने अभ्यास हो, अहिले पनि भइरहेकै छ। तपाईँहरूसँग यस्तो भेटघाट निरन्तर भइरहन्छ।” उनको भनाइले पछिल्ला समानान्तर गतिविधिबारे उठेका प्रश्नलाई सामान्य राजनीतिक अभ्यासको रूपमा प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ।
कोइरालाले नवनिर्वाचित सांसदहरूलाई संसदमा उठाउने विषय, जनताका सवाल र नीतिगत मुद्दाबारे संसदबाहिर रहेका वरिष्ठ नेताहरूसँग पनि सुझाव र परामर्श लिन आग्रह गरे। उनका अनुसार पार्टीभित्र निरन्तर संवाद र विचार–विमर्शले संसदीय भूमिकालाई अझ प्रभावकारी बनाउँछ।
कांग्रेसभित्र पछिल्लो समय समूहगत सक्रियता बढिरहेका बेला डा। कोइरालाको यो अभिव्यक्तिलाई आन्तरिक शक्ति सन्तुलन र संवादलाई सामान्यीकरण गर्ने संकेतका रूपमा पनि हेरिएको छ।




