काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक केही बेरअघि सुरु भएको हो। बालेन नेतृत्वको सरकार गठन भएपछि यो दोस्रो मन्त्रिपरिषद् बैठक हो। सरकारको प्रारम्भिक कार्यकालमै निर्णयमूलक सक्रियता देखिएको सन्देश दिन आजको बैठकलाई महत्त्वका साथ हेरिएको छ।
यसअघि बसेको पहिलो बैठकले शासकीय सुधारसम्बन्धी १०० कार्यसूची स्वीकृत गर्नुका साथै जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। त्यसैले आजको बैठकबाट पनि प्रशासनिक, राजनीतिक र सुशासनसँग सम्बन्धित केही महत्त्वपूर्ण निर्णय आउन सक्ने अपेक्षा गरिएको छ।
सरकारी स्रोतका अनुसार आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, मन्त्रालयगत कार्यसम्पादन र तत्काल कार्यान्वयन गर्नुपर्ने प्राथमिक एजेन्डामाथि छलफल केन्द्रित हुने सम्भावना छ।




