काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै राजधानीमा फेरि एमालेले सडक प्रदर्शन चर्काएको छ । सोमबार माइतीघरबाट सुरु भएको विरोध जुलुस बानेश्वरसम्म पुगेको थियो, जहाँ नेता–कार्यकर्ताले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
एमालेले अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाउँदै तत्काल रिहाइको माग दोहोर्याएको छ । ओलीलाई प्रहरीले शनिबार भक्तपुरबाट पक्राउ गरेपछि पार्टीले लगातार सडक आन्दोलनलाई तीव्र बनाएको हो ।
आजको प्रदर्शनमा पार्टीका सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराईलगायत केन्द्रीय पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो । माइतीघर क्षेत्रमा पदाधिकारीहरूको उपस्थिति देखिएपछि प्रदर्शन थप संगठित र शक्ति प्रदर्शनमुखी बनेको देखिएको छ ।
प्रदर्शनकारीहरूले ओलीको गिरफ्तारीलाई लोकतान्त्रिक मूल्यविपरीत कदम भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । माइतीघर–बानेश्वर सडकखण्ड केही समय नाराजुलुसले प्रभावित बनेको थियो ।
यसैबीच, ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । अदालतको आदेशले अब सडक आन्दोलन र राजनीतिक दबाब दुवैको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ ।




