देश

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका पूर्वमन्त्री दीपक खड्का शिक्षण अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्काको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अदालतबाट सात दिनको म्याद लिएर खड्कालाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेको थियो । विभाग स्रोतका अनुसार गएराति करिब साढे १२ बजेतिर लगातार बान्ता हुन थालेपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा तत्काल उपचारका लागि अस्पताल लगिएको हो ।

प्रारम्भिक रूपमा उनलाई नर्भिक अस्पताल पुर्‍याइएको थियो । तर स्वास्थ्य अवस्था सामान्य नभई निरन्तर बान्ता भइरहेपछि नर्भिकले थप उपचारका लागि शिक्षण अस्पताल रिफर गरेको जनाएको छ ।

हाल शिक्षण अस्पतालमा उनको उपचार जारी रहेको र चिकित्सकको निगरानीमा राखिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताएका छन् । स्वास्थ्य अवस्था स्थिर राख्दै आवश्यक परीक्षणहरू भइरहेको स्रोतले जनाएको छ ।

खड्काविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विभागले अनुसन्धान अघि बढाइरहेको छ । सोही सिलसिलामा नियन्त्रणमा लिएर बयान तथा प्रमाण संकलनको काम जारी रहेका बेला स्वास्थ्य समस्या देखिएको हो । यो घटनासँगै अनुसन्धान प्रक्रिया स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अस्पतालबाटै समन्वय हुने सम्भावना रहेको विभाग स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *