काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । उक्त रिट न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा पेसी तोकिएको छ।
गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइको मागसहित आइतबार दर्ता गरिएको निवेदन सोमबार सुनुवाइका लागि पेशीमा चढाइएको हो । जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटनासम्बन्धी अनुसन्धानका लागि पक्राउ परेपछि उनीहरूका तर्फबाट परिवारजनले सर्वोच्च अदालतमा निवेदन दायर गरेका हुन्।
पूर्वगृहमन्त्री लेखकका तर्फबाट यशोदा लेखक र ओलीका तर्फबाट राधिका शाक्यले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएको जनाइएको छ । निवेदनमा थुनाको प्रक्रिया कानुनसम्मत नभएको जिकिर गर्दै तत्काल अदालतको हस्तक्षेप मागिएको छ।
जेन–जी आन्दोलनमा भएको दमन र मानवीय क्षतिको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई जिम्मेवार ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही प्रतिवेदनका आधारमा वर्तमान सरकारले शनिबार दुवै नेतालाई पक्राउ गरेको थियो।
यो रिटको सुनुवाइलाई पछिल्लो राजनीतिक घटनाक्रमको महत्वपूर्ण कानुनी मोडका रूपमा हेरिएको छ । सर्वोच्च अदालतको आदेशले अब उनीहरूको थुनाको वैधानिकता र अनुसन्धान प्रक्रियाको दिशाबारे स्पष्ट संकेत दिने अपेक्षा गरिएको छ।




