देश

पूर्णबहादुर खड्काद्वारा केन्द्रीय कार्यसमिति बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसभित्र पछिल्लो नेतृत्व विवाद चुलिँदै जाँदा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको सक्रियतामा मंगलबार बिहान ११ बजे महाराजगञ्जस्थित स्मार्ट होटलमा बैठक बस्ने तय भएको हो ।

निवर्तमान केन्द्रीय कार्यसमितिकी सदस्य लक्ष्मी खतिवडाका अनुसार १४ औँ महाधिवेशनबाट बनेको केन्द्रीय समितिको बैठक आह्वान गरिएको हो । बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, पार्टीभित्र विकसित विवाद तथा सर्वोच्च अदालतमा दायर रिटबारे विस्तृत छलफल हुने जनाइएको छ ।

स्रोतका अनुसार निवर्तमान केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय सदस्यहरूलाई टेलिफोनमार्फत बैठकको जानकारी गराउँदै उपस्थितिका लागि आग्रह गरिरहेका छन् । सर्वोच्च अदालतमा दायर रिटको पेसी चैत २२ गते तोकिएकाले बैठकलाई त्यसअघि रणनीतिक परामर्शका रूपमा पनि हेरिएको छ ।

विशेष महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि त्यसको विरोधमा देउवा–कोइराला समूह सर्वोच्च अदालत पुगेको थियो । त्यसयता उक्त समूहले पार्टीभित्र समानान्तर संगठनात्मक गतिविधि बढाउँदै लगेको छ ।

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि खड्काले कार्यवाहक सभापतिको भूमिकामा छुट्टै वक्तव्य जारी गर्दै समानान्तर लाइनको सुरुआत गरेका थिए । अहिले केन्द्रीय समिति बैठक बोलाइएसँगै त्यो गतिविधि थप संस्थागत हुने संकेत देखिएको छ ।

यसअघि देउवा–कोइराला समूहले प्रतिनिधिसभामा निर्वाचित पार्टी सांसदहरूलाई बधाई दिन छुट्टै कार्यक्रम आयोजना गरेको थियो । अब केन्द्रीय समिति बैठक लगत्तै प्रदेश सभापति र जिल्ला सभापतिहरूको भेला बोलाउने तयारीसमेत भइरहेको खड्का निकट स्रोतले जनाएको छ । कांग्रेसभित्रको गतिविधिलाई आगामी संगठनात्मक समीकरण र नेतृत्व संघर्षको स्पष्ट संकेतका रूपमा विश्लेषण गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *