देश

वैशाखदेखि ‘ब्रिज कोर्स’ र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । विद्यार्थी भर्नाअघि सञ्चालन हुँदै आएका ‘ब्रिज कोर्स’ तथा प्रवेश परीक्षा तयारी कक्षा अब सञ्चालन गर्न नपाइने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वैशाख १ गतेदेखि देशभर यस्ता कार्यक्रम पूर्ण रूपमा बन्द गर्ने निर्देशन दिएको हो। मन्त्रालयका अनुसार पछिल्ला वर्षहरूमा विभिन्न निजी तथा शैक्षिक संस्थाहरूले भर्ना प्रक्रियाभन्दा अघि नै तयारी कक्षा सञ्चालन गर्दै आएका थिए। यस्ता कक्षाले विद्यार्थीमा अनावश्यक प्रतिस्पर्धात्मक दबाब सिर्जना गर्नुका साथै मनोवैज्ञानिक रूपमा नकारात्मक असर पार्ने निष्कर्ष निकालिएको छ।

त्यसैगरी, अभिभावकहरूलाई अतिरिक्त आर्थिक बोझ पनि पर्ने भएकाले यस्तो अभ्यासलाई नियन्त्रण गर्न आवश्यक भएको मन्त्रालयको भनाइ छ। चैत १३ गते मन्त्रीस्तरबाट भएको निर्णयअनुसार अब कुनै पनि संस्थाले यस्ता कार्यक्रम सञ्चालन गर्न नपाउने स्पष्ट पारिएको छ। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार निर्णय कार्यान्वयनका लागि सम्बन्धित सबै निकायलाई निर्देशन दिइसकिएको छ। साथै, अनुगमन प्रक्रिया पनि कडाइका साथ अघि बढाइने जनाइएको छ।निर्देशन विपरीत कुनै संस्था सञ्चालनमा देखिएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत मन्त्रालयले दिएको छ। सरकारको यो निर्णयले शैक्षिक क्षेत्रमा समान अवसर सुनिश्चित गर्ने र विद्यार्थीमाथिको अनावश्यक दबाब कम गर्ने अपेक्षा गरिएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *