काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक लाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ।
आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठ को इजलासले दुवैलाई ५ दिन थुनामा राख्न म्याद थप गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन्।
सरकारी वकिलको मागअनुसार थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो।गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमनसम्बन्धी घटनामा उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। सो समयमा ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री रहेका थिए।
आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित आयोगले दुवैविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा शनिबार उनीहरूविरुद्ध जरुरी पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिइएको हो।
आइतबार अदालतमा रमेश लेखक स्वयं उपस्थित भएका थिए भने स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पताल मार्फत केपी शर्मा ओली भर्चुअल रूपमा उपस्थित गराइएको थियो।




