काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउपछिको विकसित घटनाक्रमबारे अन्य राजनीतिक दलहरूसँग संवाद गर्न जिम्मेवारी बाँडफाँट गरेको छ।राजनीतिक दलहरूसँग संवादको संयोजनको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेल लाई दिइएको छ।
यसैगरी, संसदीय दलहरूसँग संवादको संयोजन उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई दिइएको छ भने कानुनी प्रतिवादको संयोजनको जिम्मेवारी उपाध्यक्ष गोकर्ण विष्ट लाई तोकिएको छ।
महासचिव शंकर पोखरेल का अनुसार संसदमा रहेका दलहरूसँग संवाद गरी सामूहिक प्रतिवादको योजना बनाइनेछ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा फौजदारी कारबाहीको सिफारिस भएपछि प्रहरीले शनिबार ओली र लेखकलाई पक्राउ गरेको हो। त्यसलगत्तै पार्टी कार्यालय च्यासलमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा सचिवालयको आकस्मिक बैठक बसेको थियो। सोही बैठकले दलहरूसँग संवाद र कानुनी प्रतिवादका लागि जिम्मेवारी बाँडफाँट गरेको हो।
महासचिव पोखरेलले अध्यक्ष ओलीको पक्राउलाई प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी भएको टिप्पणी गरेका छन्।
यसैबीच, एमालेले जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न छुट्टै आयोग गठन गर्न माग गरेको छ। सचिवालय बैठकले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा नयाँ आयोग गठन गर्नुपर्ने माग अघि सारेको हो।




