काठमाडौँ । नेकपा एमालेले पुर्व प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गर्दै दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने निर्णय गरेको छ ।
शनिबार बिहान आकस्मिक रुपमा बसेको सचिवालय बैठकले ओलीको रिहाईको माग गर्दै यसको कानुनी र राजनीतिक रुपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।
त्यस्तै एमालेले प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने र प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने निर्णय गरेको छ ।
साथै एमालेले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने तथा नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने निर्णय गरेको सचिव बस्नेतले जानकारी दिएका छन् ।




