काठमाडौंः नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे समीक्षा गर्ने भएको छ।
नवनिर्वाचित सांसदहरूका लागि आयोजना गर्न लागेको ‘संसदीय सचेतना’ कार्यक्रममा ओली र लेखक पक्राउबारे समीक्षा गर्ने भएको हो।
जेनजी आन्दोलनमा दोषी रहेको आरोपमा सरकारले ओली र लेखकलाई पक्राउ गरेकोबारे प्रारम्भिक धारणासमेत सार्वजनिक नगरेको कांग्रेसले ‘संसदीय सचेतना’ कार्यक्रममा समीक्षा गर्ने नेताहरुले जनाएका छन्। उनले भने, ‘आज ‘संसदीय सचेतना’ कार्यक्रम भएकाले त्यही समग्र स्थितिको समीक्षा गरेर धारणा सार्वजनिक गर्छौं।
नवगठित सरकारले गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले गरेको सिफारिसका आधारमा ओली र लेखकलाई आज बिहानै पक्राउ गरेको हो।
तर, कांग्रेसले उक्त प्रतिवेदनलाई प्रथमदृष्टिमा अपूरो र अधुरो भनेको छ। प्रतिवेदन अध्ययनका लागि कांग्रेसले कानुनका बेत्ता, शासन सत्तामा अनुभव भएका व्यक्ति र जेनजी आन्दोलनमा सहभागी भएका युवा अभियन्ता तथा विज्ञहरू सम्मिलित समिति बनाउने भएको छ।




