काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले आज बिहान काठमाडौंस्थित गुण्डु निवासबाट पक्राउ गरेको छ। पक्राउपछि उनलाई उनकै सवारीसाधनमा राखेर काठमाडौं प्रहरी परिसर लगिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गत भदौ २३ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा १९ जनाको ज्यान गएको घटनासम्बन्धी अनुसन्धानका लागि ओलीलाई नियन्त्रणमा लिइएको हो। सोही प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि भक्तपुरको कुटुन्जेस्थित निवासबाट पक्राउ गरिएको छ।
सरकारले गठन गरेको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखक तथा अन्य सुरक्षाकर्मीमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १८२ अन्तर्गत ‘हेलचक्र्याईं गरी ज्यान मार्न नहुने’ कसुरमा अनुसन्धान अघि बढाइएको हो। उक्त कसुर प्रमाणित भएमा अधिकतम तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
नवनियुक्त प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि गृह मन्त्रालयमार्फत प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो। स्रोतका अनुसार मृतक र घाइतेका परिवारले दिएको जाहेरीलाई आधार बनाएर पक्राउ गरिएको जनाइएको छ।
प्रहरीले जिल्ला अदालतबाट पूर्वअनुमति नलिई जरुरी पूर्जीका आधारमा पक्राउ गरेको बताइएको छ। कानुनी प्रावधानअनुसार पक्राउपछि आरोपितलाई २४ घण्टाभित्र जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइनेछ।
नेपालको इतिहासमा बहालवाला वा पूर्व कार्यकारी प्रमुख ज्यानसम्बन्धी फौजदारी अभियोगमा पक्राउ परेको यो पहिलो घटना भएको बताइएको छ।




