काठमाडौँ ।नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । साथै बैठकले सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई तोक्ने निर्णय गरेको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले कारबाहीका लागि सिफारिस गरेका मध्ये सुरक्षा निकायका हकमा अर्काे अध्ययन समिति गठन गर्ने र अन्यको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय भएको बैठकपछि सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए । आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलगायतलाई कारबाही सिफारिस गरेको थियो ।
तत्कालिन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइएको सो प्रतिवेदन सङ्घीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरिएको थियो । बैठकले जेनजी आन्दोलनलगायत विभिन्न आन्दोलनमा साहदत प्राप्त भएकाहरूलाई श्रद्धाञ्जली दिने निर्णय पनि गरेको छ ।
बैठकले शासकीय सुधारका योजना स्वीकृत गरेको प्रवक्ता पोखरेलले जानकारी दिए । नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहले सिंहदबारस्थित पदभारपछि मन्त्री र सचिवहरूलाई निर्देशन दिनुभएको थियो ।
यस्ता छन् बैठकका निर्णय :
–भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली व्यक्त गर्ने ।
–नेपाल सरकारको प्रवक्तामा माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने ।
–सरकारको शासकीय सुधारका सय कार्यसूची स्वीकृत गर्ने । (भोलिसम्म प्रकाशित गर्ने)
–भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने ।
- पहिलो, उल्लेखित आयोगले सिफारिस गरेको व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेश गरेको सिफारिस बमोजिम गर्ने ।
- दोस्रो, अन्यको हकमा सो आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्ने ।




