राजनीति

र्‍यापरदेखि मेयर हुँदै देशको युवा प्रधानमन्त्रीमा बालेन, छोटो समयमा उच्च स्थानको जिम्मेवारीमा

काठमाडौं । नेपाली राजनीतिमा अप्रत्याशित मोड ल्याउँदै बालेन शाह देशको ४३औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा उनलाई पद तथा गोपनीयताको शपथ गराएसँगै एक नयाँ पुस्ताको नेतृत्व औपचारिक रूपमा सत्ताको केन्द्रमा पुगेको छ। ३६ वर्षीय शाहको यो यात्रा परम्परागत राजनीतिक मार्गभन्दा फरक छ। ¥याप संगीतमार्फत सामाजिक असन्तुष्टि र युवाको आवाज उठाउँदै सार्वजनिक जीवनमा प्रवेश गरेका उनले २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयर जितेर पहिलो राजनीतिक सफलता हासिल गरेका थिए। त्यसपछि २०८० को प्रतिनिधिसभाको आमनिर्वाचनमार्फत संघीयसंदमा निर्वाचित भएसँगै प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै उनले राष्ट्रिय राजनीतिमा प्रवेश गरे। झापा‍ ५ बाट केपी शर्मा ओली जस्ता स्थापित नेतालाई पराजित गर्नु केवल चुनावी जित मात्र थिएन, त्यो मतदाताको मनोविज्ञानमा आएको परिवर्तनको संकेत पनि थियो। परम्परागत दलप्रतिको निराशा र नयाँ विकल्पको खोजीले शाहलाई सत्ताको शिखरसम्म पुर्‍याएको छ ।

बालेनको उकालो यात्रा असाधारण छ। मेयरको कार्यकालमै उनले सहरी व्यवस्थापन, अवैध संरचना हटाउने अभियान, डिजिटल शासन र पारदर्शितामा जोड दिए। यी कदमहरूले उनलाई “काम गर्ने नेता”को छवि निर्माण गर्न मद्दत गर्‍यो। यही छवि चुनावी राजनीतिमा पूँजी बनेर उदायो। उनको पृष्ठभूमि पनि विविध छ-सिभिल इन्जिनियर, संरचनात्मक अनुसन्धानकर्ता र भूकम्पपछिको पुनर्निर्माणमा सक्रिय प्राविधिक। देशका ६५ भन्दा बढी जिल्लामा काम गरेको अनुभवले उनलाई केवल राजनीतिक होइन, प्राविधिक नेतृत्वका रूपमा पनि स्थापित गरेको छ।

नयाँ मन्त्रिमण्डलः समावेशी सन्देश

प्रधानमन्त्रीसँगै १५ सदस्यीय मन्त्रिमण्डल गठन गरिएको छ, जसमा विभिन्न समुदाय र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रयास देखिन्छ। शाहले रक्षा तथा उद्योग मन्त्रालय आफैंसँग राख्दै शक्तिको सन्तुलन र रणनीतिक नियन्त्रण कायम गर्ने संकेत दिएका छन्। शाहको उदयलाई धेरै विश्लेषकहरूले “पुस्तान्तरणको सुरुवात” का रूपमा व्याख्या गरेका छन्। दशकौँदेखि स्थापित नेताहरूको वर्चस्वबीच युवा नेतृत्वको उदयले नेपाली राजनीतिमा नयाँ विमर्श जन्माएको छ। उनको शैली पनि परम्परागत राजनीतिभन्दा फरक छ -लामो भाषणभन्दा छोटो, स्पष्ट र परिणाममुखी संवाद। सामाजिक सञ्जालमार्फत प्रत्यक्ष जनसम्पर्क कायम गर्ने उनको तरिकाले युवा मतदातालाई आकर्षित गरेको देखिन्छ। तर, यो सफलता जति तीव्र छ, चुनौतीहरू पनि त्यत्तिकै गम्भीर छन्।लोकप्रियता र जनसमर्थनलाई प्रभावकारी शासनमा रूपान्तरण गर्नु उनको सबैभन्दा ठूलो परीक्षा हुनेछ। संघीय संरचनाको सुदृढीकरण,प्रशासनिक सुधार,आर्थिक स्थायित्व, सुशासन र भ्रष्टाचार नियन्त्रण यी सबै क्षेत्रमा परिणाम दिनुपर्ने दबाब उनीमाथि रहनेछ। बालेन शाहको प्रधानमन्त्री बन्ने यात्रा केवल व्यक्तिगत सफलता होइन, यो नेपाली समाजमा परिवर्तनको चाहनाको प्रतिविम्ब हो। ¥यापरदेखि मेयर हुँदै प्रधानमन्त्रीसम्मको यात्रा सम्भावनाको कथा हो-तर अबको अध्याय परिणामको हुनेछ। नेपाली राजनीतिले नयाँ अनुहार पाएको छ, तर प्रश्न उही छ-के यो नयाँ नेतृत्वले पुराना समस्या समाधान गर्न सक्छ? आगामी दिनहरूले यसको उत्तर दिनेछन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *