काठमाडौँ।बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा १५ मन्त्रीको नाम अन्तिम रूप पाएको छ, जसमा पाँच जना महिला मन्त्री समावेश भएका छन्। उनीहरूले फरक–फरक क्षेत्रबाट संघर्ष गर्दै राष्ट्रिय नेतृत्वसम्मको यात्रा तय गरेका छन्।
कृषि मन्त्रालयको जिम्मेवारी गीता चौधरी ले सम्हाल्ने भएकी छन् भने स्वास्थ्य मन्त्रालय निशा मेहता को हातमा पुगेको छ। त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सीता वादी, कानुन मन्त्रालय सोबिता गौतम र सामान्य प्रशासन मन्त्रालय प्रतिभा रावल ले सम्हाल्ने भएका छन्।
संघर्षबाट कृषि मन्त्रीसम्म: गीता चौधरी
सामान्य कृषक परिवारमा जन्मिएकी चौधरी सानैदेखि सामाजिक अन्यायविरुद्ध आवाज उठाउँदै आएकी हुन्। मानवअधिकार र वकालत क्षेत्रमा सक्रिय उनी ‘यूथ एडभोकेसी नेपाल’की संस्थापकसमेत हुन्।
स्वास्थ्यकर्मीबाट स्वास्थ्य मन्त्री: निशा मेहता
सुनसरीकी मेहता पेशाले नर्स हुन्। स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकी उनी अहिले स्वास्थ्य मन्त्रालयको नेतृत्वमा पुगेकी छन्।
अभावसँग लड्दै नेतृत्वमा: सीता वादी
सीमान्तकृत वादी समुदायबाट आएकी वादीले अत्यन्त कठिन परिस्थितिबाट शिक्षा र सामाजिक सेवामा आफ्नो पहिचान बनाएकी छन्। ‘सुन्दर सहज नेपाल’ संस्थामार्फत उनले महिला र बालबालिकाको क्षेत्रमा काम गरेकी छन्।
कानुन पढेकी कानुन मन्त्री: सोबिता गौतम
कानुन विषयमा उच्च अध्ययन र वकालतको अनुभव भएकी गौतम दुई पटक प्रत्यक्ष निर्वाचन जितेर मन्त्री बनेकी हुन्।
पत्रकारिताबाट मन्त्रीसम्म: प्रतिभा रावल
पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेकी रावलले एक दशकभन्दा बढी समय सञ्चार क्षेत्रमा बिताएकी छन्। अहिले उनी सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा पुगेकी छन्।




