देश

‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ

काठमाडौँ। सिंहदरबास्थित सङ्घीय संसद् भवन परिसर आज नवनिर्वाचित सांसद, सुरक्षाकर्मी, सञ्चारकर्मी र सांसद सहयोगीको बाक्लो उपस्थितिबाट रंगीन देखिएको थियो। प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरू शपथका लागि संसद् भवन पुगेका थिए, कतिपयले एक आपसमा चिनजान गर्दै, कतिपयले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै, अनि कतिपयले निर्वाचित भएकामा बधाई लिन व्यस्त थिए।

सङ्घीय संसद् सचिवालयले अपराह्न २ः०० बजेका लागि शपथ समारोह आयोजना गरेको थियो। सांसदहरू आफ्नो–आफ्ना भेषभूषामा सजिएर सभा स्थलमा पुगेका थिए। समारोहको समय नजिकिँदै गर्दा भवन परिसरमा रहेका सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य सहयोगीको ध्यान विशेष गरी भवनको दक्षिण प्रवेशद्वारमा केन्द्रित थियो।

अपराह्न करिब १ बजेर ५५ मिनेट जाँदा दक्षिणतर्फको प्रवेशद्वारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सवार बा.प्र ०१ ०३३ च ७८८१ नम्बरको निजी गाडी संसद् भवनको मूल प्रवेशद्वार अघि रोकिन पुग्यो। गाडीबाट ओर्लिएपछि नेता शाह सञ्चारकर्मीको घेरामा परे। सुरक्षाकर्मीले उनलाई घेरामुक्त गराउँदै बहुउद्देश्यीय हलतर्फ लैजान खटिएका थिए।

संसद् भवन प्रवेश गर्ने क्रममा उपस्थितहरूले ‘बालेन सरकार’ भन्दै अभिवादन गर्दा नेता शाह मुस्काउँदै भित्र प्रवेश गर्नुभयो। कालो कोटमा किराँती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’ लगाएर उहाँ शपथ समारोहस्थल प्रवेश गर्नुभयो। किराँती भाषामा ‘सि’ अर्थ मृत्यु र ‘लाम’ अर्थ बाटो हो; यसरी सिलाम साक्मा लगाउँदा मृत्युको बाटो छेकिन्छ भन्ने विश्वास रहेको छ। यसलाई शुभ सङ्केत र रक्षा कवचको रुपमा लिइन्छ।

समारोह स्थलमा नेता शाह बैठक कक्षको पहिलो पङ्क्तिमा बसेका थिए। उहाँको दायाँतर्फ सभापति रवि लामिछाने र बायाँतर्फ उपसभापतिद्वय डिपी अर्याल तथा डा. स्वर्णिम वाग्ले बस्नुभएको थियो।

सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले नवनिर्वाचित सांसदलाई स्वागत गर्नुभयो भने ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउनुभयो। समारोह सकिएलगत्तै वरिष्ठ नेता शाह आफैं गाडी चलाएर संसद् भवनबाट बाहिरिनुभयो।

झापा–५ बाट निर्वाचित शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीमा प्रस्ताव गरेको छ। रास्वपाले उहाँलाई संसदीय दलको नेताका रुपमा चयन गर्ने तयारी गरिरहेको छ। आजै अपराह्न त्यसका लागि बैठक आह्वान गरिएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपा १८२ सिटसहित संसद्को सबैभन्दा ठूलो दल बनेको छ।

विसं २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित शाह युवा पुस्ताबीच लोकप्रिय हुनुहुन्छ। पेशाले ‘स्ट्रक्टचरल इन्जिनियर’ रहेका उहाँ चर्चित ‘-यापर’को नामले पनि परिचित हुनुहुन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *