काठमाडौं । एकातिर संघीय संसदमा नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिइरहँदा अर्कोतर्फ माइतीघर क्षेत्रमा महिला अधिकारकर्मीहरू प्रदर्शनमा उत्रिएका छन्। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको बहुउद्देश्यीय सभाकक्षमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले २७४ जना सांसदलाई शपथ गराएका हुन्। यसअघि उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका थिए।
सांसदहरू औपचारिक तथा सांस्कृतिक पहिचान झल्किने पोसाकमा कार्यक्रममा सहभागी भएका थिए। संघीय संसद सचिवालयका अनुसार ४७ जना सांसदले मातृभाषामा शपथ लिएका छन्, जसमा १७ जनाले मैथिली भाषा प्रयोग गरेका छन्। संविधान र प्रचलित कानुनअनुसार शपथ प्रक्रिया सम्पन्न गरिएको हो। फागुन २१ गते सम्पन्न निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्यीय प्रतिनिधिसभा गठन भएको छ।
यता, नयाँ सरकार गठनको तयारीसँगै महिला अधिकारकर्मीहरू माइतीघरमा विरोध प्रदर्शनमा उत्रिएका छन्। प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय गाभ्ने तयारी गरेको विषय सार्वजनिक भएपछि विरोध चर्किएको हो। प्रदर्शनमा कमला पराजुली, लिली थापा र श्यामकुमारी साहलगायत महिला अधिकारकर्मी सहभागी थिए। उनीहरूले मन्त्रालयलाई कमजोर बनाउने प्रयास भएको भन्दै निर्णय फिर्ता लिन सरकारलाई दबाब दिएका छन्।
महिला अधिकारकर्मीहरूले जनसंख्याको झण्डै आधा हिस्सा ओगट्ने महिलाको सवाल सम्बोधन गर्ने मन्त्रालय हटाउँदा गम्भीर असर पर्ने चेतावनी दिएका छन्। उनीहरूले नयाँ सरकारलाई खबरदारीस्वरूप शान्तिपूर्ण प्रदर्शन जारी राख्ने बताएका छन्।




