काठमाडौं । नेकपा (एमाले)ले गौरीबहादुर कार्की नेतृत्वको आयोगद्वारा सार्वजनिक प्रतिवेदनप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टी महासचिव शंकर पोखरेलले प्रतिवेदनले निष्पक्ष छानबिनको मर्म पूरा गर्न नसकेको टिप्पणी गरेका हुन्।सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आयोगको प्रतिवेदनले आफूहरूको पूर्वआशंका थप पुष्टि गरेको बताएका छन्। “यो आयोग निष्पक्ष अनुसन्धानका लागि गठन गरिएको थिएन भन्ने कुरा प्रतिवेदनले नै स्पष्ट गरेको छ,” उनले उल्लेख गरेका छन्। पोखरेलले ०८२ को आमनिर्वाचन र आयोगको प्रतिवेदनलाई एकअर्कासँग जोड्दै राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास भएको आरोपसमेत लगाए। उनका अनुसार यसले देशको राजनीतिक परिस्थितिलाई थप जटिल बनाउने संकेत देखिएको छ।
यसै सन्दर्भमा उनले नयाँ शक्ति उदयसँगै मुलुकले केही समय चुनौतीपूर्ण अवस्था सामना गर्नुपर्ने धारणा व्यक्त गरे। बालेन शाह नेतृत्वमा सरकार गठनको तयारी भइरहेका बेला उनले नयाँ नेतृत्वलाई काम गर्ने अवसर दिनु उपयुक्त हुने पनि बताए। त्यस्तै, उनले विगतमा जेनजी आन्दोलनका क्रममा आयोगका अध्यक्ष कार्कीको भूमिकामाथि नै प्रश्न उठाउँदै निष्पक्ष छानबिन हुनेमा शंका व्यक्त गरेका थिए। सामाजिक सञ्जालमा गरिएको अभिव्यक्तिका आधारमा आयोगको तटस्थतामाथि प्रश्न उठेको उनको भनाइ छ।
यसअघि सार्वजनिक प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा प्रहरी प्रमुख चन्द्रकुवेर खापुङमाथि कैद र जरिवानासहित कारबाही सिफारिस गरिएको उल्लेख गरिएको छ।एमालेले समग्रमा प्रतिवेदनलाई पक्षपाती भन्दै पुनरावलोकनको आवश्यकता औंल्याएको छ।




