काठमाडौं । नेपाली कांग्रेसले आफ्ना संघीय सांसदहरूलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूका लागि कार्यक्रम सञ्चालन गर्ने निष्कर्ष निकालेको हो। सानेपास्थित केन्द्रीय कार्यालयमा मंगलबार र बुधबार बसेको बैठकले चैत १४ गते अभिमुखीकरण कार्यक्रम गर्ने तय गरेको छ। कार्यक्रममा नव–निर्वाचित तथा वर्तमान सांसदहरूलाई संसदीय अभ्यास, प्रक्रिया, प्राथमिकता र पार्टीको नीति–प्रतिबद्धताबारे जानकारी गराइनेछ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार, २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट प्रत्यक्ष तथा समानुपातिक प्रणालीमार्फत निर्वाचित सदस्यहरू र राष्ट्रियसभाका नयाँ सदस्यहरूलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। पार्टीले यस कार्यक्रममार्फत सांसदहरूको क्षमता अभिवृद्धि गर्दै संसदीय भूमिकालाई प्रभावकारी बनाउने उद्देश्य राखेको जनाएको छ।




