काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने भएका छन्।
शुक्रबार दिउँसो १२:३४ बजे शपथ ग्रहण गर्ने समय तय गरिएको जनाइएको छ। शपथ ग्रहण समारोह धार्मिक तथा सांस्कृतिक विधिअनुसार विशेष रूपमा आयोजना गरिनेछ।
कार्यक्रममा सात वटा शंखबाट शंखनाद गरिनेछ भने १०८ जना बटुकले स्वस्तिवाचन गर्नेछन्। साथै, १६ जना भिक्षुबाट अष्टमंगल पाठ गर्ने कार्यक्रमसमेत तय गरिएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।
शपथ ग्रहणपछि बालेन शाहले दिउँसो २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले झन्डै दुईतिहाइ सिट जितेको दाबी गरिएको छ। सोही आधारमा पार्टीले एकल सरकार गठन गर्दै नेतृत्व सम्हाल्ने तयारी गरेको बताइएको छ।




