देश

कांग्रेसले कसलाई बनाउँला संसदीय दलको नेता ?

काठमाडौं । आठ दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस अहिले नयाँ मोडमा उभिएको छ। प्रतिनिधिसभा निर्वाचनमा शीर्ष नेतृत्वको पराजयपछि पार्टीभित्र एउटा असामान्य बहस सुरु भएको छ—अब संसदीय दलको नेता को बन्ने? यही बहसको केन्द्रमा छन् ३५ वर्षीय युवा नेता निश्कल राई । इलाम–१ बाट विजयी भएर संसद् पुगेका उनी अचानक पार्टीभित्र आशाको नयाँ अनुहारका रूपमा उभिएका छन्। गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा विशेषमहाधिवेशनबाट निर्वाचित गगन थापासहित अधिकांश शीर्ष नेताहरू पराजित भएपछि कांग्रेसको शक्ति सन्तुलन बदलिएको छ। अनुभवी नेताहरू संसद् बाहिरिँदा दलको नेतृत्व कसले गर्ने भन्ने प्रश्न झन् पेचिलो बन्दै गएको छ । प्रत्यक्षतर्फ सीमित सफलता र समानुपातिकबाट आएको संख्याले कांग्रेसलाई दोस्रो ठूलो दल बनाएको भए पनि नेतृत्वको अभाव स्पष्ट देखिएको छ। यही खाली स्थानमा निश्कलको नाम अगाडि आएको हो।

पार्टीभित्र अहिले दुई धार स्पष्ट देखिन्छन्। एकातिर अनुभवी नेताहरू पूर्व सहमहामन्त्रीद्वय अजुननरसिंह केसी र भिष्मराज आङ्देम्बे जस्ता नाम छन्। अर्कोतिर युवा पुस्ताले परिवर्तनको संकेत दिँदै निश्कललाई अघि सार्न थालेका छन्। संसदीय अंकगणित हेर्दा देउवा–कोइराला समूह निर्णायक देखिन्छ। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता डा. शेखर कोइराला निकट समूहबीच सहमति बनेमा नेतृत्व अनुभवीतर्फ जान सक्छ। तर सहमति नभए प्रतिस्पर्धामा युवा कार्ड बलियो बन्ने सम्भावना पनि उत्तिकै छ। राजनीतिक परिदृश्यमा अर्को ठूलो परिवर्तन भनेको रास्वपाको उदय हो। युवा नेतृत्वको लहरले देशको कार्यकारी नेतृत्वसम्म प्रभाव पारिरहेको बेला कांग्रेसभित्र पनि त्यही दबाब देखिएको छ। निश्कल स्वयं पनि यसलाई अवसरका रूपमा हेर्छन्। उनी भन्छन्—यदि देशको नेतृत्व युवा पुस्ताले सम्हाल्न सक्छ भने प्रतिपक्षको नेतृत्व पनि युवाकै हातमा जानुपर्छ।

पार्टीभित्र औपचारिक रूपमा केही नबोलिए पनि नेताहरूबीच भेटघाट र छलफल तीव्र छन्। पूर्वउपसभापति पूर्णबहादुर खड्का र बरिष्ठ नेता डा. शेखर कोइरालाको भेटले भेटले आङदेम्बेलाई अघि सार्ने संकेत दिएको स्रोतहरू बताउँछन्। तर कांग्रेसको ३८ सदस्यीय संसदीय दलमा स्पष्ट बहुमत कसैसँग छैन। त्यसैले अन्तिम निर्णय सहमति वा मतदान—दुवै सम्भावनामा अडिएको छ। यसपटक कांग्रेसबाट संसद् पुगेका ३८ जनामध्ये अधिकांश नयाँ अनुहार छन्। थोरै मात्र सांसदसँग संसदीय अनुभव छ। यही कारण नेतृत्व चयनमा “अनुभव कि ऊर्जा ?” भन्ने बहस अझै गहिरिएको छ। नेपाली वर्तमान राजनीतिमा सबै नयाँ अनुहारको बाहुल्यता भएका कारण अनुुभवी नेतालाई नै संसदीय दलको नेता बनाउनुपर्ने बहस पनि उतिकै चर्चामा छन् । संसदीय अथाह ज्ञान,राजनीतिक अनुभव भएकालाई संसदीय दलको नेता बनाउँदा नेतृत्वलाई बलियो र पारदर्शीता बनाउने तर्क उतिकै छ । इलाम–१ मा टिकट पाउनदेखि जित निकाल्नसम्म अप्रत्याशित यात्रा तय गरेका निश्कलले फेरि अर्को बाजी मार्ने हुन् कि? वा कांग्रेसले अनुभवी नेतृत्वमा भरोसा गर्ने हो? अहिलेको अवस्थामा स्पष्ट उत्तर छैन। तर यति भने निश्चित छ—यसपटक कांग्रेसको संसदीय दलको नेता चयन केवल पदको विषय होइन, पार्टीको भविष्यको दिशासँग जोडिएको निर्णायक मोड बनेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *