काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्।
शपथ ग्रहणपछि केसीले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेका छन्। अब उनले प्रतिनिधिसभाका अन्य २७४ सांसदलाई शपथ गराउने कार्यक्रम रहेको छ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्ये केसी सबैभन्दा ज्येष्ठ सदस्य भएकाले उनलाई यो जिम्मेवारी दिइएको हो। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सांसद निर्वाचित भएका छन्। केसी भने नेपाली कांग्रेसबाट समानुपातिक प्रणालीमार्फत संसद्मा प्रवेश गरेका हुन्।




