काठमाडौं।प्रतिनिधिसभाका नवनिर्वाचित २७४ सदस्यको पद तथा गोपनीयताको शपथ भोलि हुने भएको छ। शपथग्रहण कार्यक्रममा ४७ जना सांसदले १७ वटा मातृभाषामा शपथ लिने तय भएको संसद् सचिवालयले जनाएको छ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि भोलि अन्य सांसदहरूलाई शपथ गराउनेछन्। चैत १२ गते दिउँसो २ बजे २७४ सांसदलाई शपथ गराइनेछ।
संवैधानिक व्यवस्थाअनुसार संघीय संसद्का सदस्यले पहिलोपटक बैठकमा सहभागी हुनुअघि शपथ लिनुपर्ने हुन्छ। सांसदहरूले मातृभाषामा पनि शपथ लिन पाउने व्यवस्था छ। यसका लागि तोकिएको समयभित्र जानकारी गराउनुपर्ने प्रावधानअनुसार ४७ जनाले मातृभाषामा शपथ लिने जानकारी दिएका हुन्।
संसद् सचिवालयका अनुसार विभिन्न भाषामा शपथ लिने सांसदहरूको सूची पनि तय गरिएको छ। श्रम संस्कृति पार्टीका ७ सांसदले चारवटा मातृभाषामा शपथ लिने तयारी गरेका छन् भने अध्यक्ष हर्क साम्पाङले नेपालीमै शपथ लिने जनाइएको छ।
नेपाल भाषा, डोटेली, मैथिली, भोजपुरी, बजिका, थारू, मगही, संस्कृत, बान्तावा, तामाङ, चाम्लिङ, अवधि, बझांगी, छन्त्याल र मगर खाम भाषामा सांसदहरूले शपथ लिनेछन्।
संसद् सचिवालयले मातृभाषामा शपथ लिन चाहने सांसदलाई पूर्व जानकारी गराउन आह्वान गरेको थियो।




