काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको सफल शल्यक्रिया भएको छ ।
साम्बाले सामाजिक सञ्जालमार्फत बुधबार बिहान न्युजील्यान्डको अकल्यान्डमा डाक्टर साइमन र उनको टोलीद्वारा शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएकी छन् ।
साम्बाका अनुसार खाडी क्षेत्रमा अवस्था अनुकूल नरहेका कारण कतारस्थित अस्पेटार अस्पताल पुग्न समस्या भएपछि विशेषज्ञको सुझावमा न्युजील्याण्डमै शल्यक्रिया गरिएको हो । अब चिकित्सककै निगरानीमा रिह्याब (पुनर्स्थापना) प्रक्रिया सुरु हुने र अवस्था सामान्य भएसँगै अस्पेटारमा निरन्तरता दिने उनले बताएकी छन् ।
उनले भनेकी छन्-
‘लामो प्रतिक्षापछि अन्तत: मेरो घुँडाको शल्यक्रिया भएको छ । बुधबार विहान डाक्टर साइमन र वँहाको टोलीबाट न्युजील्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको जानकारी गराउँदछु । खाडी क्षेत्रमा हाल अवस्था सामान्य नरहेकै कारण कतार र एस्पेटार पुग्न समस्या भएपछि त्यहाँकै सुझाव अनुसार न्युजील्यान्डमै उपलब्ध विशेषज्ञबाट मेरो शल्यक्रिया गरिएको छ । अब यहाँको डाक्टकै निगरानीमा मेरो पुनर्स्थापनाको काम भोलिदेखि सुरू हुनेछ । स्थिति सामान्य हुनेबितिक्कै रिह्याब एस्पेटारमा निरन्तरता दिने जानकारी सबैमा गर्दछु । यस पिडाको घडीमा मलाई साथ दिनुहुने वेलिंगटन र अकल्यान्डमा रहनुभएका नेपाली परिवारलाई जति धन्यवाद दिएपनि कम हुन्छ ।
मेरो क्लब वेलिंगटन फिनिक्स र मेरो व्यवस्थापन टिमले दिनरात गरेर यो शल्यक्रियाको लागि समय मिलाउनुभएको छ । आम समर्थक जसले सधैं मेरो लागि सहयोग र माया दिनुभयो, त्यसै उर्जा लिएर म पुनरागमनको यात्रामा अघि बढेको छु । यहाँहरु सबैलाई हृदयदेखि धन्यवाद । अब सम्पूर्ण ध्यान पुनरागमनमा ।’
यसअघि उनले गत फागुन १४ गते (एक महिना अघि) उपचारका लागि आर्थिक सहयोगको सार्वजनिक अपिल गरेकी थिइन् । घुँडाको एसीएलमा राखिएको पुरानो ग्राफ्ट र एमसिएल दुवैमा चोट लागेकाले जटिल शल्यक्रिया आवश्यक परेको र अनुमानित ८० हजार अमेरिकी डलर खर्च लाग्ने उनले उल्लेख गरेकी थिइन् । शुभचिन्तक तथा विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त भएपछि उनले २४ घण्टामै धन्यवाद दिँदै सहयोग संकलन रोकेकी थिइन् ।साम्बाले उक्त अपिलमा उपचार प्रक्रियामा ढिलाइ भएको भन्दै अखिल नेपाल फुटबल संघप्रति असन्तुष्टि जनाएकी थिइन् ।
साम्बा न्युजील्याण्डको क्लब वेलिङ्टन फिनिक्सबाट खेल्नेक्रममा गत पुस ५ गते अस्ट्रेलियाको महिला फुटबल लिगअन्तर्गत ब्रिस्बेन रोअरविरुद्धको खेलमा घाइते भएकी थिइन् । खेलको दोस्रो हाफमा हावामा आएको बल हेड गर्ने क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किँदा उनको दाहिने घुँडामा गम्भीर चोट लागेको थियो ।




