देश

हालको नेतृत्व समूहले हारको जिम्मेवारी लिनुको सट्टा अग्रज नेतामाथि दोष थुपारे : तत्कालीन प्रचार विभाग प्रमख विश्वकर्मा

काठमाडौं । चुनावी पराजयपछि नेपाली कांग्रेस भित्र जिम्मेवारी बहस चर्किँदै जाँदा नेतृत्व तहबीच आरोप–प्रत्यारोप सुरु भएको छ। पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले हालको नेतृत्व समूहले हारको जिम्मेवारी लिनुको सट्टा अग्रज नेतामाथि दोष थोपरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले चुनावी समीक्षा प्रक्रियामै प्रश्न उठाएका छन्। उनका अनुसार, पार्टीभित्र “बदलिएको कांग्रेस” को नाममा गरिएको समीक्षा निष्कर्षभन्दा बढी दोषारोपणमा केन्द्रित देखिएको छ।

विश्वकर्माले राष्ट्रिय स्वतन्त्र पार्टी को उदाहरण दिँदै पुराना दलविरुद्धको आक्रामक अभियानबाट नयाँ शक्तिले ठूलो सफलता पाएको उल्लेख गरे। तर कांग्रेसभित्र भने आफ्नै नेतृत्वको कमजोरीभन्दा विगतका नेताहरूलाई जिम्मेवार बनाउने प्रवृत्ति देखिएको उनको टिप्पणी छ। उनले प्रश्न उठाए–“हारपछि आत्मसमीक्षा गर्ने कि दोष अरूमाथि थोपर्ने ?” कांग्रेसभित्र पछिल्लो समय गगन कुमार थापा नेतृत्वको समूह सक्रिय देखिएको छ। तर विश्वकर्माका अनुसार नयाँ धारका नेताहरूले चुनावी रणनीतिमा असफल भएपछि जिम्मेवारी स्वीकार गर्न तयार नदेखिएको संकेत गरेका छन्। विशेषगरी सर्लाही–४ मा थापाको पराजय र समग्र परिणामलाई लिएर आन्तरिक असन्तोष बढ्दै गएको छ। विश्लेषकहरूका अनुसार, यस्तो सार्वजनिक आरोप–प्रत्यारोपले पार्टीभित्रको विभाजनलाई झन् गहिरो बनाउने जोखिम छ।

निर्वाचनको नतिजापछि कांग्रेसभित्र देखिएको चर्को विवादका कारण अब आगामी दिनमा कांग्रेस एक होला की विभाजनको दिशामा जान्छ । विवादका कारण नेतृत्वबीच विश्वास कमजोर हुन सक्छ,संगठनात्मक एकता प्रभावित हुन सक्छ,भविष्यको रणनीति अन्योलमा पर्न सकने अनुमान गरिएको छ । चुनावी हारपछि समीक्षा प्रक्रिया कुनै पनि दलका लागि महत्त्वपूर्ण हुन्छ। तर यदि समीक्षा नै आरोप–प्रत्यारोपमा सीमित भयो भने, त्यो सुधारभन्दा बढी विवादको कारण बन्न सक्छ। कांग्रेसले हारबाट पाठ सिक्छ कि आन्तरिक विवादमै अल्झिन्छ ? यसको उत्तरले पार्टीको आगामी दिशा तय गर्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *