काठमाडौँ । नेपाली कांग्रेसका गगन थापाले अब पार्टीलाई महाधिवेशन केन्द्रित बनाउने संकेत गरेका छन्।
मंगलबार बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्रका महत्वपूर्ण निर्णय अब महाधिवेशनबाटै तय हुने बताएका हुन्।
केन्द्रीय समितिले उनको राजीनामा अस्वीकृत गरेपछि बैठकमा सहभागी हुँदै थापाले आफूले कुनै दबाब वा हतारमा राजीनामा नदिएको स्पष्ट पारे। “मैले आफ्नो कर्तव्य ठानेर राजीनामा दिएको हो, तर केन्द्रीय समितिले अस्वीकृत गरेपछि यो विषय यतिमै टुंगिएको छ,” उनले भने।
उनले विशेष महाधिवेशन नगरी चुनावमा गएको प्रसङ्ग स्मरण गर्दै त्यसले पार्टीलाई चुनौतीपूर्ण अवस्था सामना गर्न बाध्य बनाएको उल्लेख गरे।
थापाले निर्वाचनपछि पार्टीले नयाँ जिम्मेवारी पाएको भन्दै मतदाताप्रति गरिएको प्रतिबद्धता पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताए। सरकारमा नभए पनि जनतासँग गरेका वाचा कार्यान्वयनमा ध्यान केन्द्रित गरिने उनले स्पष्ट पारे।




