राजनीति

रास्वपाभित्र गहिरो छलफल: मन्त्रालय संख्या घटाउने र बालेन – रविको आधा–आधा कार्यकाल योजना

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छ। पार्टीले प्रभावकारी सरकार बनाउने र मन्त्रालयको संख्या कति राख्ने भन्ने विषयमा आन्तरिक गृहकार्य गरिरहेको छ। संसदीय दलको नेता वरिष्ठ नेता बालेन्द्र शाह हुने तयारी भएसँगै पार्टीले आन्तरिक रुपमा मन्त्रिपरिषद् संरचना र मन्त्री छनोटबारे छलफल गरिरहेको छ। महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार, बालेन नेतृत्वमा सरकार गठन प्रक्रिया चैत १२ गतेपछि सुरु हुने सम्भावना रहेको छ।

सहमहामन्त्री विपिनकुमार आचार्यले मन्त्रालयको संख्या निर्धारण र मन्त्री छनोटको विषय शीर्ष तहमा छलफलमै रहेको बताए। बाचापत्रअनुसार संघीय मन्त्रालय १८ वटा सीमित गर्ने प्रस्ताव छ, तर अहिले नियमावली अनुसार २१ मन्त्रालय रहेका छन्। प्रशासनविद् उमेश मैनालीका अनुसार, मन्त्रालयको संख्या घटाएर १५–१८ बनाउने र प्रशासन सुधार गर्ने कुनै बाधा छैन। उनले भने, “नेपालमा मन्त्रालय धेरै छन्, जस्तै अमेरिका १२, जापान ११ मन्त्रालय मात्र छ। हामीसँग २५ वटा मन्त्रालय आवश्यक छैन।”

वर्तमान नियमावली अनुसार मन्त्रिपरिषद्ले मन्त्रालयको कार्यविभाजन तय गर्न सक्छ। मैनालीले थपे, “सरकार आफैं कार्यविभाजन नियमावली संशोधन गरी मन्त्रालयको काम प्रभावकारी बनाउन सक्नेछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करप्सन नियन्त्रणमा पर्याप्त भूमिका खेल्छ।”

पार्टीका शीर्ष नेताहरूले मन्त्रालय घटाउने, प्रभावकारी काम गर्ने, प्रशासन सुधार गर्ने र भ्रष्टाचार नियन्त्रणका उपायमा ध्यान दिँदै छलफल गरिरहेको स्रोतले जनाएको छ। बालेन नेतृत्वमा नयाँ सरकारले आधा–आधा कार्यकाल प्रधानमन्त्री जिम्मेवारी सम्हाल्ने र सुशासनमा जोड दिने योजना अघि बढाउने अनुमान छ।

सरकार गठनपछि मन्त्रालयहरूको संख्यामा संशोधन,लाइन मन्त्रीहरुकाे कार्यक्षमता वृद्धि र प्रशासनिक सुधारमार्फत सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिमा केन्द्रित नीति लागू गर्ने तयारी छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *