देश

रवि लामिछाने प्रकरणमा सर्वोच्चको सुनुवाइ अधुरो, रिट ‘हेर्दाहेर्दै’मा

काठमाडौं । रवि लामिछाने विरुद्धका मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालत मा जारी सुनुवाइ सोमबार निष्कर्षमा पुग्न नसकेपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ। न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा भएको बहस समय अभावका कारण टुंगिन नसकेपछि मंगलबारका लागि निरन्तर सुनुवाइ तय गरिएको हो।

सोमबार रिट निवेदक पक्षबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले बहस गरेका थिए। अब प्रतिवादी पक्षको बहस सुन्ने क्रम अघि बढ्नेछ। महान्यायाधिवक्ता सविता भण्डारी बराल ले लामिछानेविरुद्ध लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोप फिर्ता लिने निर्णय गरेपछि उक्त निर्णय बदरको माग गर्दै रिट दायर गरिएको हो।

यसअघि पनि यस विषयमा चार दिनसम्म सुनुवाइ भइसकेको थियो। अदालतले महान्यायाधिवक्ताको निर्णयसँग सम्बन्धित कागजात झिकाउन आदेश दिएपछि पुनः पेसी तोकिएको थियो। महान्यायाधिवक्ताको निर्देशनपछि विभिन्न जिल्ला सरकारी वकिल कार्यालयहरूले सम्बन्धित अदालतमा अभियोगपत्र संशोधनका लागि निवेदन दिएका छन्। तर, जिल्ला अदालतहरूले सर्वोच्चमा विचाराधीन रहेको रिटको टुंगो नलागेसम्म निर्णय नगर्ने जनाएका छन्।

लामिछानेमाथि विभिन्न सहकारी प्रकरणमा ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोप लगाइएको थियो। पछिल्लो निर्णयमार्फत ती आरोप फिर्ता लिने प्रक्रिया अघि बढाइएको हो। यस प्रकरणको अन्तिम निर्णयले लामिछानेको कानुनी अवस्थासँगै सहकारीसम्बन्धी मुद्दाहरूको दिशानिर्देशनमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *