देश

बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह को नेतृत्वमा सरकार बन्ने चर्चा चलिरहेका बेला टोखा क्षेत्रमा सुकुम्बासी बस्तीमाथि डोजर चलाइएको घटनाले विवाद चर्किएको छ।

टोखास्थित बस्तीमा करिब १८ वटा टहरा डोजर लगाएर भत्काइएको पीडितहरूले बताएका छन्। उनीहरूका अनुसार कुनै पूर्वसूचना नदिई एक्कासि आएको टोलीले ‘माथिको आदेश’ भन्दै घर भत्काएको हो।

पीडितहरूले स्थानीय जनप्रतिनिधि, विशेषगरी वडाध्यक्षले जानकारी नदिई कारबाही गरिएको आरोप लगाएका छन्। “हामीलाई केही थाहा नै नदिई अचानक डोजर आयो, सामान निकाल्नसमेत पाएनौं,” एक पीडितले गुनासो गरे।

डोजर कारबाहीपछि बस्तीका सामानहरू सडकभरि छरपस्ट भएका छन् भने बालबालिकासहित परिवारहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन्। “बालबालिकासहित हाम्रो परिवारको अवस्था दयनीय बनेको छ,” अर्को पीडितले बताए।

स्थानीय बासिन्दाले आफूहरूले समर्थन गरेको राजनीतिक शक्तिप्रति असन्तुष्टि जनाउँदै आगामी दिनमा मत नदिने चेतावनी दिएका छन्। “हामीले विश्वास गरेर भोट हाल्यौं, तर उल्टै दुःख पाइयो,” उनीहरूको भनाइ छ। स्थानीयवासी भन्छन्, वडाध्यक्षले नै सुकुम्वासी नागरिकहरुले भाडा उठाएको आरोप लगाएका छन् । दश रोपनी जग्गामा डोजर चलाइएको स्रोतको दाबी छ ।

घटनास्थलमा प्रहरीको उपस्थिति रहे पनि पीडितका अनुसार प्रहरीले हस्तक्षेप नगरी चुपचाप बसेको थियो। यसअघि पनि काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउँदा यस्तै विवाद उत्पन्न हुँदै आएको छ। यस घटनाले पुनः सुकुम्बासी व्यवस्थापन, मानवीय संवेदना र नगर प्रशासनको कार्यशैलीबारे गम्भीर प्रश्न उठाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *