काठमाडौं । सङ्घीय संसद् सचिवालय ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका लागि सिट सङ्ख्याका आधारमा संसदीय कार्यालय पुनः व्यवस्थापन गरेको छ।हाल सिंहदरबार स्थित नयाँ संसद् भवन निर्माण सम्पन्न नभएकाले विद्यमान संरचनामै दलहरूको कार्यालय व्यवस्थापन गरिएको सचिवालयले जनाएको छ।
प्रवक्ता एकराम गिरीका अनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि दलहरूको सिट संरचनामा आएको परिवर्तनअनुसार कार्यालय पुनः बाँडफाँड गरिएको हो। सोहीअनुसार ठूला दलहरूलाई पुरानै स्थानमा निरन्तरता दिइएको छ भने केही दलका कार्यालयहरू फेरबदल गरिएका छन्।
सचिवालयले यसअघि नेकपाले प्रयोग गरेको कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी लाई उपलब्ध गराएको छ। त्यस्तै, रास्वपाले प्रयोग गर्दै आएको कार्यालयमा नेकपा, श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टी लाई व्यवस्थापन गरिएको छ।
सचिवालयका अनुसार यो व्यवस्था अस्थायी हो। नयाँ संसद् भवन निर्माण सम्पन्न भएपछि सम्पूर्ण संसदीय गतिविधि त्यहीँबाट सञ्चालन गरिनेछ।यसैबीच, नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम भने नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा चैत १२ गते आयोजना गर्ने तयारी गरिएको छ।




