देश

महिला हिंसाविरुद्ध आक्रोश, पीडित परिवारको राष्ट्रिय महिला आयोगमा प्रदर्शन

काठमाडौं । महिला हिंसाका घटनामा न्यायको माग गर्दै पीडित परिवार र सरोकारवालाले राष्ट्रिय महिला आयोग परिसरमा प्रदर्शन गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंसा अन्त्य गर’, ‘महिला आयोग किन मौन ?’ लगायतका नारासहित प्रदर्शनकारीहरूले आयोगको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले सुर्खेतकी इनिशा बिक र खोटाङकी रेस्मिका परियारको घटनामा दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

प्रदर्शनकारीका अनुसार बलात्कारपछि हत्या गरिएका घटनामा शीघ्र छानबिन गरी पीडितलाई न्याय दिन ढिलाइ भएको छ। उनीहरूले यसअघि माइतीघर मण्डला मा धर्ना दिँदा पनि राज्य पक्षबाट पर्याप्त सुनुवाइ नभएको गुनासो गरेका छन्। पीडित परिवारको आन्दोलनलाई खोटाङ सेवा समाजले समेत समर्थन जनाएको छ। समाजका प्रतिनिधिहरूले पीडितलाई तत्काल न्याय र दोषीलाई कडा सजाय सुनिश्चित गर्न सरकारलाई दबाब दिनुपर्ने बताएका छन्। प्रदर्शनमार्फत पीडित पक्षले महिला हिंसाका घटनामा राज्यका निकाय सक्रिय र उत्तरदायी बन्नुपर्ने माग दोहोर्‍याएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *