देश

वरिष्ठ अर्थविद् केशवप्रसाद आचार्यको निधन, नेपाली अर्थनीतिमा अपूरणीय क्षति

काठमाडौं । वरिष्ठ अर्थविद् केशवप्रसाद आचार्य को आज निधन भएको छ। ७२ वर्षीय आचार्यको निधन ‘ब्रेन स्ट्रोक’ का कारण अन्नपूर्ण न्युरो हस्पिटलमा उपचारको क्रममा भएको हो। गत मंगलबार बिहान आफ्नै घरमा ब्रेन स्ट्रोकको सामना गरेका आचार्यलाई तत्काल मेडिकेयर अस्पताल, चाबहिल लगिइसकेका थिए र त्यसपछि अन्नपूर्ण अस्पताल, माइतीघरमा उपचार सुरु गरिएको थियो। तर, चिकित्सकहरूले आज उनलाई मृत घोषणा गरेका छन्।

आचार्य राष्ट्रिय अर्थनीति र वित्तीय योजनामा सक्रिय भूमिका निभाउने व्यक्तित्वका रूपमा चिनिन्थे। उनी राष्ट्र बैंकका कार्यकारी निर्देशक र अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार रहिसकेका थिए। २०५१ सालमा मनमोहन अधिकारी सरकारद्वारा घोषणा गरिएको बजेटमा उल्लिखित ‘एक सय रुपैयाँ वृद्ध भत्ता’ र ‘आफ्नो गाउँ आफैं बनाऔँ’ कार्यक्रममा उनी सहभागी थिए।

त्यसैगरी, आचार्य अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को वाशिङ्टन डीसीस्थित मुख्यालयमा वरिष्ठ आर्थिक सल्लाहकारको रूपमा दुई वर्षसम्म कार्यरत रहिसकेका थिए।आचार्यको परिवारमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। पारिवारिक स्रोतका अनुसार छोरी विदेशबाट आउनुपर्ने भएकाले अन्तिम दाहसंस्कार भोलि मध्यान्ह हुने जानकारी दिइएको छ। उनको निधनले नेपाली अर्थनीति र वित्तीय क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *